• Wednesday 26th of February 2020

पर्यटन आगमन इतिहासमै पहिलो पटक करिब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिय


  • खुल्ला संसार
  • सोम, पुस २३, २०७५

सन् २०१८ मा करिब १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यति संख्या नेपालको पर्यटक आगमन इतिहासमै पहिलो पटक पुगेको हो । राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार हवाई र स्थल मार्गबाट सन् २०१८ को जनवरीदेखि डिसेम्बरभित्र ११ लाख ७७ हजार ७३ विदेशी पर्यटक नेपाल आएको तथ्यांक रेकर्ड गरिएको छ ।
विगतमा एक वर्षसम्म पर्यटक गणना गर्दा पनि १० लाख पुग्न सकेको थिएन । तर, २०१८ को ११ महिनामै पर्यटक संख्या १० लाख नाघिसकेको थियो । गत वर्ष २०१७ मा हवाई र स्थलमा मार्गबाट गरी कूल ९ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए ।

हाम्रो पर्यटन आगमन इतिहासमै पहिलो पटक करिब १२ लाख विदेशी पर्यटक भित्रिएको तथ्यांक रेकर्ड गर्न पाउँदा औधी खुसी छौं पर्यटन बोर्डका सीईओ जोशीले सोमबार बाह्रखरीसँग भने, २०१८ मा आएको पर्यटक संख्या २०१७ को दाँजोमा २४ दशमलव ७७ प्रतिशतले बढी हो । जोशीका अनुसार गत वर्ष नेपाल आएका पर्यटकमध्ये सबैभन्दा बढी (प्रमुख पाँच देश) भारत, चीन, अमेरिका, श्रीलंका र बेलायत रहेका छन् । गत वर्ष भारतबाट २ लाख ४ सय ३८ पर्यटक आएका थिए । यो अघिल्लो वर्षको तुलनामा २५ दशमलव १ प्रतिशतले धेरै हो । २०१८ को कूल पर्यटक आगमन संख्यामा अझै वीरगन्ज नाकाबाट भित्रिएका पर्यटकको तथ्यांक आइसकेको छैन ।

त्यसैगरी दोस्रो स्थानमा रहेको चीनबाट गत वर्ष १ लाख ५३ हजार ६ सय २ पर्यटक आएका थिए । यो भनेको अघिल्लो वर्षको दाँजोमा ४६ दशमलव ८ प्रतिशतले बढी हो । तेस्रो स्थानमा परेको अमेरिकाबाट २०१८ मा १६ प्रतिशतले पर्यटक बढेका छन् । नेपाल आइपुगेका अमेरिकी पर्यटक संख्या गत वर्ष ९१ हजार ७ सय ८५ पुगेको थियो । त्यस्तै चौथो स्थानमा परेको श्रीलंकाबाट गत वर्ष ७० हजार ६ सय १० पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्या अघिल्लो वर्षको दाँजोमा ५५ दशमलव ७ प्रतिशतले बढी हो । उता पाँचौं स्थानमा रहेको बेलायतबाट ६३ हजार ८६ पर्यटक आएका थिए । यो भनेको अघिल्लो वर्षको दाँजोमा १५ दशमलव ६ प्रतिशत धेरै हो । अझै भौतिक पूर्वाधार थप्दै जान सकियो भने यही दरमा पर्यटक संख्या पनि बढ्दै जाने निश्चित छ । त्यसमाथि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सकेसम्म चाँडो सञ्चालनमा ल्याउन सकियो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुधार गर्न सकिए सुनमा सुगन्ध हुनेछ पर्यटन बोर्ड सीईओ जोशीले भने यति गर्न सकिए सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक ल्याउने लक्ष्य अवश्य पूरा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology